अन्नपूर्ण हिमालय समूह हिमालयमा अवस्थित नेपालको उत्तर-मध्यमा रहेको छ । यसमा रहेको एक हिमालयको उँचाई ८,००० मिटर (२६,००० फिट) रहेको छ त्यसतै यस समूहको तेह्र वटा हिमालको उँचाई ७,००० मिटर (२३,००० फिट)को छ र सोह्रभन्दा अधिक हिमालको उँचाई ६,००० मिटर (२०,००० फिट) रहेको छ । यो हिमालय समूह ५५ किलोमिटर (३४ माइल) लामो रहेको छ भने यसको पश्चिम भागलाई कालीगण्डकी खोंच त्यस्तै यसको उत्तर र पूर्वलाई मर्स्याङ्दी नदी तथा यसको दक्षिण भागलाई पोखरा उपत्यकाले सीमाबद्ध गरेको छ । यस हिमाल समूहको पश्चिमी अन्तमा अन्नपूर्ण अभयारण्य भनिने उच्च बेसिन रहेको छ । अन्नपूर्ण प्रथम हिमाल विश्वको दशौँ अग्लो र नेपालको नवौँ अग्लो हिमाल हो यो हिमालको उँचाई ८,०९१ मिटर (२६,५४५ फिट) रहेको छ ।
यो पुरै हिमाल समूह तथा यस आसपासका ७,६२९ वर्ग किलोमिटर (२,९४६ वर्ग माइल) क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रद्वारा संरक्षित गरिएको छ । यो नेपालको सबैभन्दा पहिलो र सबैभन्दा ठुलो संरक्षण क्षेत्र हो । अन्नपूर्ण संरक्षण क्षेत्र विभिन्न पदयात्रीहरूको लागी घर हो जसमा अन्नपूर्ण सर्किट पनि रहेको छ ।
एतिहासिक रूपमा अन्नपूर्ण हिमाल आरोहण गर्नका लागी विश्वको सबैभन्दा खतरनाक हिमाल मध्ये एक हो । सबैभन्दा नवीनतम इतिहासलाई हेर्दा सन् १९९० वा त्यसपछि कञ्चनजङ्घा हिमाल आरोहण गर्दा मृत्यु हुनेको संख्या बढी रहेको छ । मार्च २०१२ सम्ममा अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्नेको संख्या १९१ रहेको छ भने हिमाल आरोहान गर्दा ६१ को मृत्यु भइसकेको छ । यो शिखरसम्मको मृत्यु दर (३२%) रहेको छ जुन कुनै पनि आठ हजारी हिमालभन्दा बढी रहेको छ । समग्रमा हेर्दा दक्षिण धारबाट आरोहण सबैभन्दा कठिन रहेको छ । सन् २०१४ अक्टोबरमा हिमआँधी र हिमपहिरोले गर्दा अन्नपूर्ण हिमाल आरोहण गर्न गएका ३९ जनाको मृत्यु भएको थियो जुन नेपालको पदयात्रा इतिहासको सबैभन्दा ठुलो आपदा रहेको थियो ।
अन्नपूर्ण संस्कृत भाषाको नाम हो जसको अर्थ खाद्यन्यको भण्डार हुन्छ ।
अन्नपूर्ण हिमालय समूहमा जम्मा ६ टाकुराको उँचाई ७,२०० मी (२३,६२० फिट) रहेको छ जुन निम्न छन्:
अन्नपूर्ण प्रथम (मुख्य) | ८,०९१ मी | (२६,५४५ फिट) १०औं क्रम; विशेषता=२,९८४ मी | |
अन्नपूर्ण दोश्रो | ७,९३७ मी | (२६,०४० फिट) १६औं क्रम; विशेषता=२,४३७ मी | |
अन्नपूर्ण तेश्रो | ७,५५५ मी | (२४,७८६ फिट) ४२औं क्रम; विशेषता=७०३ मी | |
अन्नपूर्ण चौथौ | ७,५२५ मी | (२४,६८८ फिट) | |
गङ्गापूर्ण | ७,४५५ मी | (२४,४५७ फिट) ५९औं क्रम; विशेषता=५६३ मी | |
अन्नपूर्ण दक्षिण | ७,२१९ मी | (२३,६८४ फिट) १०१औं क्रम; विशेषता=७७५ मी |
अन्नपूर्ण प्रथम ८,००० मिटर (२६,२०० फिट) सबैभन्दा अग्लो टाकुरा भएकोले यसको आरोहण गर्नका निमित्त आरोहण दल लागिपरेको थियो । सन् १९५०मा फ्रान्सेली आरोहण दलले धौलागिरी अथवा अन्नपूर्ण पर्वत आरोहण गर्ने अनुमति पाएको थियो। सोही अनुरूप अन्नपूर्ण हिमाल आरोहण गर्ने उद्देश्यले ५ अप्रिल, १९५०मा फ्रान्सेली दल नेपाल आयो। आरोहण दलमा जिन कौजी , लुइस लचेनल, ग्यास्टन रिवुफत , मार्सल स्कातज र लायोनल टेरी रहेका थिए। सोही दलमा चिकित्सक जाकेस औडत , फोटोग्राफर मार्सल आइचक र कुटनैतिक एवम् संयोजन प्रमुखको पनि सहभागिता थियो। ग्रुप दे हाउते मोन्टेजका महासचिव मौरिस हर्जोगले दलको नेतृत्व गरेका थिए। सरदार आङ्गथार्केको मातहतका ८ जना शेर्पाहरू आरोहण कार्यका सहयोगी थिए। उत्तर पश्चिम धारबाट पहिलो आरोहण गर्ने प्रयास भएकोमा यसलाई परिवर्तन गरी उत्तरी मोहोडाबाट चढ्ने निर्णय भयो। शिविरबाट पाचौं शिविरसम्म पुग्न १० दिन लाग्यो। यति ठूलो र अपरिचित पर्वतको लागि यो समय छिटो थियो। आरोहीहरूले विहान सवेरै चढाइ सुरू गरे पनि अपरान्हतिर हिउँ पर्ने हुनाले शिविरमा पुग्दा दिनहुँ बाटो अवरुद्ध हुन्थ्यो। हिमपातको कारणले गर्दा हिमपहिरो आउने सम्भावना हुन्थ्यो। अन्नपूर्णको उत्तरी मोहोडा हिउँ पहिरोको खतरा हुने ठाउ मानिन्छ। मध्यान्हतिर ३० देखि ५० सेन्टिमिटर बाक्लो हिउँ पर्नाको कारण बढी खतारायुक्त अवस्था थियो। अनेकौ कठिनाइको बावजुद हर्जोग र लचेनल पाचौं शिविरमा पुगे। हर्जोगले आङ्गथार्की शेर्पालाई जुन ३ सम्म शिखर आरोहण गर्ने मौका दिएका थिए तर हिउँले उनका पैताला खाएको हुनाले आरोहण त्यागेर तल फर्के। जुन २मा जोडसँग हावा चलेको हुनाले पाल तथा सामान तितरवितर भए। पाल तथा कपडाहरूमा हिमपात भै थुप्रो लाग्यो। त्यस रातमा उनीहरू सुत्न पाएनन। यस प्रकारको जटिल परिस्थितिले लचेनललाई विहृवल बनायो र उनी तल झर्ने विचार गरे तर हर्जगले आरोहणलाई निरन्तरता दिन अनुरोध गरे। लचेनलले हर्जोगको अनुरोध स्वीकार गरी उनकै साथमा लागे। अक्सिजन प्रयोग नगरीकन सन् १९५० जुन ३मा ती दुवैजना अन्नपूर्ण(प्रथम)को शिखरमा पुगे। हिउँले हात तथा पैताला खाएर गम्भीर रूपमा बिमारी भए पनि अन्नपूर्ण(प्रथम)को प्रथम आरोहण सम्पन्न गरेकोमा दुवैजना प्रशन्न देखिन्थे।